
विजय रावत/जुम्ला:यातायात व्यवस्था कार्यालय जुम्लाले चालु आव २०८१।८२ को ८ महिनामा ६८ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यो आर्थिक वर्षमा २ करोड ४२ लाख ५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चालु आवको साउनदेखी फागुनसम्म ८ महिनाको अवधिमा करिब ६८ लाख बढी राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिनुभयो ।
यातायात क्षेत्रको आम्दानीमा यो आवमा १२ लाख ७१ हजार राजस्व संकलन गर्ने लक्ष्य भएकोमा चालु आवको फागुन महिनासम्म ४ लाख २३ हजार ६९६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख महतले भन्नुभयो,“चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धी १ करोड ७ लाख ५४ हजार लक्ष्य लिएकोमा ३५ लाख ८४ हजार ८६० रुपैयाँ राजस्व उठेको छ । सवारीसाधन करमा ४९ लाख ४ हजार ९६९ रुपैयाँ राजस्व सङ्कलन गर्न लक्ष्य लिएकोमा २८ लाख राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । ”




यस्तै, चालु आवको पुस मसान्तसम्म एकसय १३ वटा सवारीसाधन दर्ता भएकाछन् । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुई ५६ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । गत आवमा निजि र सरकारी मोटरसाइकल गरि १३६ वटा सवारीसाधन कार्यालयमा दर्ता भएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।