
डोल्पा – डोल्पाको सदरमुकाम दुनैमा आइतबार एकदिने सडक दुर्घटना न्यूनीकरण तथा सर्ने र नसर्ने रोगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी, यातायात व्यवसायी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूको सहभागितामा रहेको थियो।
सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै सर्ने र नसर्ने रोगबारे आम जनमानसमा सचेतना फैलाउने उद्येश्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै डा. अजय पाण्डेले क्षयरोग, कुष्ठरोग, दम, मधुमेह जस्ता रोगहरूको लक्षण, रोकथाम तथा समयमै परीक्षणको महत्त्वबारे जानकारी गराए। उनले भने, “दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त परीक्षण गर्नु जरुरी छ। ज्वरो, तौल घट्नु र गाठागुठी देखिनु क्यान्सरको संकेत हुन सक्छ, ढिला नगरी परीक्षण गरिनुपर्छ।”




डोल्पामा पछिल्लो समय मधुमेहका बिरामीको संख्या बढ्दै गएको बताउँदै उनले नियमित खानपान, सन्तुलित आहार र तनावमुक्त जीवनशैली अपनाउनुपर्ने सल्लाह पनि उनले दिए।
कार्यक्रममा ट्राफिक प्रहरी वरिष्ठ हवल्दार विष्णुबहादुर थापाले सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिए। उनका अनुसार, “हालका अधिकांश दुर्घटनामा ८० प्रतिशत चालकको लापरवाही र २० प्रतिशत सवारीसाधनको प्राविधिक समस्या जिम्मेवार छन्।” उनले सबैले आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै भने, “दुर्घटना न्यूनीकरण ट्राफिक मात्रको जिम्मा होइन, सवारीधनीले पनि असल चालक राख्नुपर्छ।”
सीस्वास्थ्य सेवा कार्यालय डोल्पाका तथ्यांक अनुसार हालसम्म २१ जना सडक दुर्घटनामा परेका बिरामी जिल्ला अस्पताल डोल्पामा उपचार गराइसकेका छन्। त्यस्तै, त्रिपुरासुन्दरी र जिल्ला अस्पतालमा क्रमशः २५ र २६ जना गरी ५२ जना मधुमेहका बिरामी नियमित उपचारमा रहेको पनि जानकारी गराइएको छ। क्यान्सरका बिरामी भने हालसम्म डोल्पामा छैनन्।
कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालयका तथ्यांक सहायक आशिष सिंथानीले जिल्लामा सञ्चालित विभिन्न स्वास्थ्य अभियान, रोगहरूको अवस्था र उपचार सेवाबारे जानकारी प्रस्तुत गरे। सहभागीहरूले यस्ता कार्यक्रमले सडक सुरक्षा र जनस्वास्थ्यप्रति नागरिकको चेतना बढाउनेमा सहयोग पुर्याउने प्रतिक्रिया समेत दीएका थिए।