
डोल्पा – हिमाली जिल्ला डोल्पाका विभिन्न यार्सा पाटनहरुमा यार्सागुम्बा संकलनका लागि प्रवेश गर्न पूर्व आफ्नो परिचय खुल्ने कागजात अनिवार्य देखाउनु पर्ने छ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जेठ ५ गतेदेखि यार्सापाटन खुला गर्ने निर्णयसँगै प्रवेशका लागि ‘क’ र ‘ख’ वर्गको प्रमाणित परिचयपत्र अनिवार्य गरिएको जनाएको छ। समितिका अध्यक्ष नर बहादुर बस्नेतका अनुसार, ‘क’ वर्गमा निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिक पर्छन् जसले प्रवेश शुल्क रू. ५०० तिर्नुपर्नेछ भने, ‘ख’ वर्गमा डोल्पा जिल्लाका अन्य नागरिक पर्छन्, जसका लागि शुल्क रू. २००० हुनेछ।यदी कसैसँग ‘क’ वा ‘ख’ वर्गको प्रमाणपत्र नभएमा उनलाई जिल्ला बाहिरका नागरिकसरह ‘ग’ वर्गमा राखी शुल्क तिर्नुपर्नेछ।




संकलकहरूले समितिले तोकेको क्षेत्रमा मात्र पाल टाँगेर बस्न पाउनेछन्, जहाँ फोहोर व्यवस्थापन र शान्तिपूर्ण वातावरणको सुनिश्चितता गरिनेछ।निकुञ्ज प्रवेश शुल्कबाहेक प्रत्येक संकलकले सेवा शुल्कको रूपमा थप रू. ५०० तिर्नुपर्नेछ। सेवा शुल्कको रसिद निकुञ्जमार्फत प्रमाणित गराइनेछ र उक्त रकम यार्सापाटन व्यवस्थापनमा खर्च गरिने बताइएको छ।
अध्यक्ष बस्नेतले चोरीको आशङ्कामा हल्ला नफैलाउन आग्रह गर्दै भने, “यो वर्ष यार्सापाटन समयभन्दा अगावै खुला गरेका छौं, नियमानुसार प्रवेश गरेमा संकलक खाली हात फर्किने छैनन्।”
यसअघि प्रत्येक वर्ष जेठ १० गते खुल्ने यार्सापाटन यसपालि जिल्लाको सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयअनुसार जेठ ५ गतेदेखि नै आम संकलकका लागि खुला गर्ने निर्णय गरिएको छ।
यता शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा पाउने पाटनहरु सवै हरेक हिसाबले चोरी वाट सुरक्षित राखि रहेकोले कुनै संका नगर्न भनेको छ । पाटन प्रबेशका लागि नियमानुसार नै काम भईरहेको र कोहि कसैले गलत कार्य गरेमा कानुनी रुपमा कारवाहीको भागदार हुनुपर्ने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । अर्यालले भने हामीले सबै जनशक्ति यति वेला यार्सागुम्बा व्यवस्थापनमै लगाइ रहेकाछौ तर भौगोलिक रुपमा निकै ठुलो र कठिन भएकोले चुनौती धेरै खेपि रहेका छौ सुधारउन्मुख हुदैछ । डोल्पाका बुकी पाटनहरु एक महिनाका लागि यार्सागुम्बा संकलन गर्न सवैका लागि जेठ ५ गते देखी खुला गरिने भएको छ । यार्सागुम्वा संकलमा जाने संकलकहरुले भने आफ्नो स्वास्थयको ख्याल गर्दै व्यवस्थापन सहित जान चिकित्सकले सल्लाह दिएका छन । ४ हजार मिटर भन्दा माथिको उचाईमा जानुपर्ने भएकोले लेख लाग्ने समस्या धेरै हुने हुदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन ।