
डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिकाले शैक्षिक गुणस्तर सुदृढीकरणका लागि विशेष पाँच दिने तालिम कार्यक्रम सुरु गरेको छ। आईतवारदेखि सदरमुकाम दुनैका दुई स्थान तथा जुफालमा एकै साथ तालिमको सुरुआत गरिएको हो
आईतवार सदरमुकाम दुनैको दुई स्थानमा र जुफालमा गरि एकै साथ ५ दिने तालिम शुभारम्भ गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुदृढिकरणका लागि बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभाबक संघ,प्रधानाध्यापक र शिक्षकको क्षमता विकासका साथै विद्यार्थी क्यारिएर काउन्सिलिङ र अभिभावक शिक्षा तालिम शुभारम्भ गरिएको ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलप्रसाद रोकायाले जानकारी दिए।




उनका अनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालय अन्तर्गतका वाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघका पदाधिकारीहरू तालिममा सहभागी छन्।
नगर प्रमुख बुढाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिका क्रियाशील रहेको उल्लेख गर्दै भने, “हामी शिक्षा क्षेत्रलाई बलियो बनाउन गम्भीर भएर लागेका छौँ, तर यसको परिणाम देखिन केही समय लाग्न सक्छ।” उनले नागरिकले महसुस गर्ने गरी विकासका क्षेत्रमा पनि काम भइरहेको बताए।
तालिम शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकाय, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख हर्षरूप चौलागाईं लगायत शैक्षिक क्षेत्रका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।