
डाेल्पा : डाेल्पाकाे मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच ७ बुदे सहमति जनाउदै भगिनी सम्बन्धमा हस्ताक्षर गरिएको छ। भरतपुर महानगरपालिका चितवनकी नगर प्रमुख रेणु दाहाल र मुड्केचुला गाउँपालिका डाेल्पाका अध्यक्ष दत्त बहादुर शाहीले भगिनी पत्रमा हस्ताक्षर गरि दुबै पक्षले हस्तान्तरण गरेका छन ।
दुबै स्थानीय सरकार प्रमुखले हस्ताक्षर गरेकाे भगिनी सम्बन्ध भनिएको छ।” नेपालको वागमती प्रदेश, चितवन जिल्लामा रहेको भरतपुर महानगरपालिका एवं कर्णाली प्रदेश, डोल्पा जिल्लामा रहेको मुड्केचुला गाउँपालिका नर्कु, डोल्पाबीच पर्यावरणिय तथा भौगलिकरुपमा विविधता भएतापनि कयौ सामाजिक तथा सांस्कृतिक आयामहरुमा समानता रहेका छन् । जम्मा ४३२.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको भरतपुर महानगरपालिकाका धार्मिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र हो भने जम्मा २५०.०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मुड्केचुला गाउँपालिका समेत ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले उत्तिकै सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको छ ।




भरतपुर महानगरमा पर्ने देवघाटधाम र मुड्केचुला गाउँपालिकामा पर्ने मुड्केचुला तीर्थस्थल धार्मिक हिसावले अझ महत्वपूर्ण क्षेत्र हुन् । यी दुवै ठाउँ नेपाली समाजका परम्परागत आस्थाका केन्द्र हुन् । यहाँका विभिन्न मेला, पर्व, जात्रा र पूजाआजाका क्रममा हुने मानिसको आवागमनका साथै ग्रामीण तथा सहरी उत्पादनको व्यापारका कारण आन्तरिक तथा बाह्य धार्मिक पर्यटन यहाँको समृद्धिको आधार बनेका छन्। स्थानीय विकासका लागि यी दुवै पालिकाबीच रहेको समानता र विविधतालाई एक अर्काले नियमित रुपमा सिकाइका लागि अवसरका रुपमा लिने हो भने यसले सेवा प्रवाहमा थप प्रभावकारीता ल्याउनुका साथै स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।
महानगरपालिका तथा गाउँपालिकाले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६. दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध स्थापित गरी शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोग लगायतका अन्य विविध असल अभ्यास तथा अनुभव आदानप्रदान गर्ने व्यवस्था अनुसार भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिका बीच तपसिलमा उल्लेख भए अनुसार साझेदारी कार्यक्रम सञ्चालन गर्नका लागि भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ यो समझदारी पत्र तयार गरी हस्ताक्षर गरिएको मुड्केचुला गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए ।
याे भगिनी सम्बन्धले दुवै अन्तरप्रदेशका पालिकालाई फाइदा हुने बिश्वास रहेकाे उनले बताए । भरतपुर महानगर पालिकाकाे कार्यालयमा एक कार्यक्रम गरि भगिनी सम्बन्धमा भरतपुर महानगरपालिकाको तर्फबाट नगर प्रमुख रेनु दहाल र मुड्केचुला गाउँपालिकाकाे तर्फबाट अध्यक्ष दत्त बहादुर शाहीले हस्ताक्षर गरेका छन। भगिनी सम्बन्धमा भरतपुर महानगर पालिका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेल र मुड्केचुला गाउँपालिका उपाध्यक्ष दुदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत रेशम महतारा साक्षी रहेकाे छन।
भगिनी सम्बन्धकाे समझदारी हेर्नुहाेस्।
१. भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहवाट प्रचार प्रसार गरिनेछ ।
२. भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकामा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गरिनेछ ।
३. दुबै स्थानीय तहले कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान र सीपको सिको गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४. दुवै स्थानीय तहले उद्यमशीलता वृद्धि गरी आयआर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गरिनेछ।
५. दुवै स्थानीय तहले विकासका आफ्ना सफल अभ्यासहरूबाट प्राप्त सिकाईको आदान प्रदान गरी सफल अभ्यासहरूको अवलम्बन गर्नका लागि प्राविधिक सहयोग आदान-प्रदान गरिनेछ ।
६. विशिष्ट विकास आयोजनाको सञ्चालन तथा कार्यान्वयन गर्नका लागि दुवै स्थानीय तहबाट संयुक्त रुपमा मिलेर तथा आपसी सहयोग आदान-प्रदान गरी सञ्चालन गर्ने कार्यमा सहयोग प्रदान गरिनेछ।
७. गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता तथा शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउनका लागि दुवै स्थानीय तहले आवश्यक सहयोग आदानप्रदान गरिनेछ ।
८. दुवै पालिकाको संयुक्त लागत साझेदारीमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने खालका परियोजना सञ्चालन गरिनेछ ।