
काठमाण्डौ ।नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी)बन्न सफल भएका छन् । डीआईजी बनेसँगै उनले सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्वको जिम्मेवारी पाएका छन् ।
डम्बरबहादुरअघि गोविन्दराम परियारले प्रहरी उपरीक्षक (एसपी) सम्म भएका थिए । एसएसपीको दावेदार हुँदाहुँदै परियारले २०७३ मंसिर ३० मा सेवा अवधि पूरा भई सेवा निवृत्त भए । यसअघि ढालमान थापा पनि भएका थिए ।
डीआईजी डम्बरबहादुर २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागको अधिकृतमा नियुक्त भई २०५७ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समाहित भएका थिए । डीआईजी बन्न सफल डम्बरबहादुरसँग त्यसभन्दा माथिल्लो पद एआईजी र आईजी हुनेसम्मको अवसर बाँकी छ ।
आइतबार डीआईजी नियुक्त विकले कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पुगेर यसै साता पदभार ग्रहण गर्नेछन् । उनीभन्दा एक वर्षपछि प्रहरी सेवामा प्रवेश गरेका अधिकृत एआईजीसम्म भइसकेका छन् । उनीसहितका केही अधिकृत भने संगठनभित्र विभिन्न कारण र बहानाका साथ पछाडि पारिँदै आएका छन्।
गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षताको बढुवा समितिको २०८१ मंसिर ९ को बैठकबाट विकसहित तत्कालीन ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो । दाङ स्थायी घर भएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारीमा रहँदै डीआईजी बढुवा सिफारिस भएका हुन् ।




बढुवा सिफारिस भएको आठौं दिन मंसिर १७ गते गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विकसहित आठै जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले विकसहित आठै डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । दर्ज्यानी चिह्न प्रदान गरिएको ९ दिनपछि उनीसहित आठै डीआईजीको प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न विभाग र महाशाखामा पदस्थापन भएको थियो ।
पदस्थापन सूचीअनुसार विक साइबर व्युरो भोटाहिटी काठमाडौंमा दरबन्दी राखेर प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागमा काजमा खटाइए । उक्त विभागका प्रमुख एआईजी बुद्धिराज गुरुङ गत चैत ४ मा अनिवार्य अवकाशमा गए । त्यसपछि विकले करिब एक महिना निमित्त प्रमुखको जिम्मेवारी सम्हाले । ५ दिनअघि सरकारले नवनियुक्त एआईजी राजन अधिकारीलाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिइसकेको छ ।
एसएसपीमा विपद् व्यवस्थापन महाशाखाको प्रमुख
डीआईजी विक २०७९ साउन २५ मा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । उनीसँगै ३२ जना एसएसपीमा बढुवा हुँदा बिक वरीयताको १०औँ नम्बरमा थिए । उनीसँगै पाँचौं, छैटौं र सातौं नम्बरमा एसएसपी बढुवा भएका दानबहादुर कार्की, डा।मनोजकुमार केसी र राजन अधिकारी ६ महिनाअघि गत जेठ ४ मा डीआईजी बढुवा भएर पाँच दिनअघि मात्रै एआईजी भए । उनीहरूको पदस्थापनसमेत भइसकेको छ ।
आफूसँगै बढुवा भएका ३ जना एसएसपी डीआईजी बढुवा भएको ६ महिनापछि मात्रै विक डीआईजी बढुवा भए । एसएसपी बढुवा भइसकेपछि विक गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन त भए, तर प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा काजमा बसेर काम गरे ।
त्यसपछि उनको सरुवा विपद् व्यवस्थापन महाशाखामा भयो । त्यहाँ उनले २०८० जेठ ९ देखि एक वर्षभन्दा बढी समय महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले । महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने उनी दलित समुदायको पहिलो एसएसपी हुन् ।
उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहँदा उनले जाजरकोट र बझाङमा गएको भूकम्पमा प्रहरी युनिट परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरे । त्यस्तै प्रहरीलाई हिमालमा हुने उद्धारमा काम गर्ने जनशक्ति उत्पादनमा मुख्य भूमिका निर्वाह गरे । सात वटै प्रदेशका विपद् गुल्मको निरीक्षक, अनुगमन र प्रभावकारी तथा सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
विपद् व्यवस्थापन महाशाखाबाट उनको करिब १० महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भयो । त्यहाँ तत्कालीन डीआईजी रामदत्त जोशी र किरण राणा कार्यालय प्रमुख हुँदा उनी दोस्रो वरीयतामा थिए । राणा एआईजीमा बढुवा भएपछि विकले करिब एक महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाले ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारीमा रहँदै उनी डीआईजीमा बढुवा सिफारिस भएका हुन् । बढुवापछि प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागमा कार्यरत रहे ।
एआईजी बढुवामा अन्याय, आईजीमा दाबी फितलो
२०२७ माघ २० मा जन्मिएका विक गत माघ २० मा ५४ वर्ष पुगेका छन् । डीआईजी र एआईजीको ५६ वर्षे उमेर हद हिसाब गर्दा उनले अझै करिब डेढ वर्ष प्रहरी सेवामा रहन पाउँछन् । प्रहरीसम्बन्धी विद्यमान ऐन(कानूनका आधारमा सेवा अवधिको हिसाबले उनी २०८३ पुस ५ मा नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिबाट अनिवार्य अवकाशमा जानेछन् ।
२०५२ भदौ १९ गते प्रहरी सेवा प्रवेश गरेका दीपक थापा अहिले प्रहरी महानिरीक्षक ९आईजी० छन् । विकभन्दा एक वर्षअगाडि भर्ना मिति भएका दानबहादुर कार्की, डा।मनोजकुमार केसी र राजन अधिकारीसँगै एआईजी बढुवा भएको भए उनी आगामी आईजीको बलियो प्रतिस्पर्धी बन्न सक्ने थिए । तैपनि एआईजी बढुवामा अन्याय नभएको अवस्थामा विक आईजीको प्रतिस्पर्धामा पुग्नसक्ने सम्भावना छ ।
विक २०७४ साल साउन ३० मा प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भए । एसपीको ५ वर्षे कार्यकालमा उनले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुख र जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । प्रदेश ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो दलित हुन् भने जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा पूर्वएसपी गोविन्दराम परियारपछिका दोस्रो व्यक्ति हुन् । उनीपछि एसपी भरतबहादुर विकले रूपन्देही हुँदै वैशाख १५ को सरुवामा गोरखा जिल्ला प्रहरी प्रमुखका रूपमा काम गर्दैछन् ।
एसपीमा बढुवा भइसकेपछि उनको पहिलो पदस्थापन प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत प्रतिआतंकवाद नियन्त्रण शाखा ९एटीसी० मा भएको थियो । त्यसबाहेक उनले एसपी छँदा महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पनि काम गरेका थिए ।
धादिङ, प्यूठान र ओखलढुंगा प्रहरी प्रमुख
प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा समायोजित भएपछि २०६४ पुस ३० गते डीएसपी भएपछि जिल्ला प्रहरी कार्यालय धादिङ, प्यूठान र ओखलढुंगाको नेतृत्व गरे । ती जिल्लामा पनि दलित समुदायबाट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने उनी पहिलो व्यक्ति हुन् । विक सरकारी सेवामा आरक्षणको व्यवस्था हुनुअघि नै खुला प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका अधिकृत हुन् ।
अनुसन्धान विभागबाट सेवा प्रवेश गरेका करिब १० मध्ये उनी इन्सपेक्टर हुँदा छैटौं नम्बरमा थिए । डीएसपी बढुवा हुँदा १२औँ नम्बरमा पुगे । यस्तै एसपीमा बढुवामा चौथो थिए । एसएसपी हुँदा १० नम्बरमा झरे । डीआईजी बढुवामा फेरि आठौं नम्बरमा पुगे ।
इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका विकले काठमाडौंको इलाका प्रहरी कार्यालय फर्पिङ र आफ्नै जन्मस्थल दाङको इलाका प्रहरी कार्यालय गढुवामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । इन्स्पेक्टर हुँदा नै जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहामा पनि काम गरेका थिए ।
विक प्रहरी सेवामा प्रवेश गर्दा गोविन्दराम परियार नेपाल प्रहरीमा दलित समुदायबाट एक्ला इन्स्पेक्टर थिए । नेपाल प्रहरीको इतिहासमा असई, सई, इन्स्पेक्टरदेखि डीएसपी हुँदै एसपीसम्म पुग्ने परियार पहिलो व्यक्ति हुन् । असईबाट प्रहरी सेवा प्रवेश गरेका कारण परियार एसपीबाटै अनिवार्य अवकाशमा गए ।
व्यवसायिक अधिकृतको छवि
सामान्य परिवारमा जन्मिएका विकले ५–६ कक्षा पढ्ने समयमै आमाबुबा गुमाए । त्यसपछि उनको हेरचाह दाइ खड्गबहादुर सुनारले गरे । उनले माध्यमिक तहको अध्ययन दाङ सदरमुकाम घोराहीमा गरेका हुन् । पढाइमा अब्बल उनलाई त्यसपछि दाइले पढ्न नै काठमाडौं पठाए । काठमाडौंमा अध्ययन गर्ने क्रममा अनुसन्धान विभागको जागिरमा प्रवेश गरे ।
विकले प्रहरी संगठनमा इमानदार तथा व्यावसायिक अधिकृतको छवि बनाएका छन् । पछाडि परेको उत्पीडित समुदायबाट सुरक्षा निकायको उच्च पदमा पुगेर अझै देश र जनताको सेवा गर्ने इच्छा आफूमा रहेको विकले बताए ।
उनले भने, ‘अहिलेको बढुवा पछि संगठन प्रमुखले चलाएको आन्तरिक शुद्धीकरण देखि नागरिक मैत्री अभियानले सार्थकता पाएको महसुस गरेको छु ।’ न्यायमा पहुँच नभएकालाई न्याय दिनुपर्ने कुरा प्रहरी संगठनमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘यसमा संगठन प्रमुखको अभियान निकै राम्रो छ । सबैले पालना गर्नुपर्छ ।’