
सुर्खेत: पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी बैशाख २९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत आउने भएका छन्।
नेकपा माओवादी निकट भातृ संघठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको ऐतिहासिक प्रथम प्रदेश सम्मेलनको उद्घाटन तथा सम्बोधनका लागि उनी सुर्खेत आउने भएका हुन्। सम्मेलन बैशाख २९ र ३० गते वीरेन्द्रनगरमा आयोजना हुँदैछ।




वाईसीएल कर्णाली प्रदेश समितिले सम्मेलनको तयारीलाई अन्तिम रुप दिँदै पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। समितिका संयोजक शोभाराम भण्डारीका अनुसार पत्रकार सम्मेलन बैशाख २७ गते बिहान ७ बजे नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको कार्यालयमा हुने छ।
भण्डारीका अनुसार वाईसीएल कर्णाली प्रदेशको प्रथम सम्मेलन प्रचण्डको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न गरिनेछ। सम्मेलनलाई ऐतिहासिक बनाउने तयारी अन्तिम चरणमा पुगेको समितिको भनाइ छ।