
सुर्खेत:- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यति बेला गुलमोहर फूलले झकिझकाउ बनेको छ। ढकमक्क फुलेका गुलमोहरका रुखहरू अहिले सामाजिक सञ्जालदेखि सडक छेउसम्म चर्चा र आकर्षणको केन्द्र बनेका छन्।
वीरेन्द्रनगरको कुहिनेपानी, घण्टाघर, चिसापानी र विद्युत् कार्यालय वरपर रहेका गुलमोहर रुखहरूमा तस्बिर खिच्ने, भिडियो बनाउने र टिकटक बनाउने आन्तरिक पर्यटकहरूको भीड देखिन थालेको छ। बच्चा होस् या बुढो अधिकांशको दिनचर्या नै अहिले गुलमोहर फूल सग बित्ने गरेको छ।




वीरेन्द्रनगरको सौन्दर्यमा थप शोभा थप्ने यी फूलहरू करिब दशकौ अघि भारतको लखनउबाट ल्याइएको हो। अघिल्लो वर्ष कर्णाली उत्सवमा सहभागी हुन आएका योजनाकार माधवभक्त माथेमाले ३० को दशकमा गुलमोहरका बिरुवा लखनउबाट ल्याइएको र निकै संघर्षका साथ हुर्काइएको बताएका थिए।
तत्कालीन राजा वीरेन्द्रको भ्रमणपछि २०२९ सालमा यसको नाम वीरेन्द्रनगर राखियो। यस अघि भने यस ठाँउलाई चौहनचौर नामले चिनिन्थ्यो। राजा वीरेन्द्र कै सोचमा रहेर माथेमाले गुरुयोजना बनाए, र त्यसै अनुसार गुलमोहरका बिरुवा भारत देखि ल्याएर वीरेन्द्रनगर सहरको सडकछेउमा रोपिएका थिए ।
त्यसबेला जम्मा १०० रुपैयाँमा ल्याइएका गुलमोहरका बिरुवा अहिले वीरेन्द्रनगरको सौन्दर्य बढाउने मुख्य कारक बनेका छन्। फ्रान्समा ‘स्वर्गको फूल’ भनेर चिनिने गुलमोहर अहिले वीरेन्द्रनगरको पहिचानको रूपमा स्थापित हुँदै गएको छ।
वीरेन्द्रनगर नगरपालिकाले पनि नगर सौन्दर्यतामा ध्यान दिँदै आएको छ। विशेष गरी घण्टाघरको बाहिरी क्षेत्रलाई खुला पार्कमा रूपान्तरण गरिएपछि पर्यटकको आवागमन झनै बढेको छ। पार्क वरपर रहेका गुलमोहर हेर्न र तस्बिर खिच्न आउने आन्तरिक पर्यटकहरूले यस क्षेत्रलाई थप जीवन्त बनाइरहेका छन्।गुलमोहरले वीरेन्द्रनगरलाई साँच्चै नै फुलाउने र हरियाली दिने योजनाकारहरूको सपना अहिले साकार बन्दै गएको छ।
फोटो:पुर्ण सार्की