
मालती विक:सञ्चार माध्यम जनता र सरकार वा राज्यबीचको पुल हो । सरकारको स्थायी खबरदारी गर्ने सिस्टम हो प्रक्रिया हो । सञ्चार जगतले जनताका आवाजलाई सरकारको कानसम्म पुर्याउँछ र सरकारलाई पनि जनताको अवाज सुन्नका लागि घचघच्याने काम पनि गर्छ । आज स्वतन्त्र सञ्चार भएका कारण नै भुईमान्छेका आवाजहरु बुलन्द भइरहेका छन् । सरकारले गलत मार्ग लिँदा जनताको आवाजलाई बेवास्ता गर्दा जहिलै निष्पक्ष सञ्चार माध्यमको धर्म निभाउदै सरकारलाई खबरदारी पनि गरिरहेको हुन्छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा सञ्चार जगतले ठूलो भुमिका खेलिरहेको छ । लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा पनि सञ्चार जगतले निष्पक्ष भुमिका निर्वाह हिजो पनि गरेको थियो आज पनि गरिरहेको छ र भोली पनि गरि नै रहने कुरामा कुनै दुविधा छैन ।




सञ्चारकर्मीले समाजलाई सत्यतथ्य सूचनाबाट सुसूचित गराई रहेका हुन्छ । जसले गर्दा समाजमा गहिरो प्रभाव पार्दछन् । तसर्थ सूचना सम्बन्धी अधिकारको प्रयोग गर्दा सूचनाको तथ्यगत स्रोत र त्यसले व्यक्ति र समाजलाई पार्ने प्रभाव र पत्रकारिताको कर्तव्य भुल्नु हुँदैन भन्ने हो । सस्तो लोकप्रियताका लागि कसैको चरित्रहत्या गर्न ÷गराउन मानसिक रोगीहरुको भनाइलाई किमार्थ आधार मान्नु हुँदैन सञ्चारकर्मीले । कुनै व्यक्ति विशेषसँग सम्बन्धित विषयमा कुरा गरिरहदा सम्बद्ध व्यक्ति सहज उपलब्ध हुँदाहुदै उसको प्रारम्भिक प्रतिक्रिया नलिनु सञ्चार जगतको कमजोरी हुन जान्छ । यसतर्फ सञ्चार जगतले आफ्नो भुमिकालाई अझै निख्खर बनाउदै लैजानु पर्नेमा कुनै संका छैन । सञ्चार माध्यमले पेशागत मूल्यमान्यता, र मर्यादाभन्दा बाहिर कुनै पनि सन्दर्भमा जानु किमार्थ उचित मानिदैन । सूचनालाई तथ्यपरक बनाउनु सञ्चारकर्मीको धर्म हो । सही सूचना पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो । जुन कुरा नेपालको संविधान २०७२ ले सुनिश्चित गरिसकेको छ । कसैले व्यक्तिगत रिस र आवेगमा कसैको बारेमा गलत प्रचारका लागि सञ्चार माध्यमको प्रयोग गर्छ भने यसतर्फ सञ्चार जगत सधै चनाखो त हुनु नै पर्छ यसका साथै तथ्यगत सुचना पनि त्यत्तिकै आवश्यक हुन्छ ।
कहिलेकाही मानसिक विचलन भएकाहरुको सिकार सञ्चारकर्मी पनि बनिरहेका हुन्छन । सुचनालाई तथ्यगत र सत्यगत पत्ता नलगाई सुचना बाहिर ल्याउदा त्यसले ठूलै दुर्घटना निम्त्याएका थुप्रै उदाहरण समाजमा जिवितै छन । हुन त केही सञ्चार माध्यमहरुले तथ्यगत सत्य सुचना भन्दा पनि सस्तो लोकप्रियताका लागि समाचारको आधार नहेरी जताभावी समाचार लेखिदिँदा सञ्चार माध्यमको विश्वसनीयतामा केही प्रश्न उठने पनि गर्छन तर यस तर्फ सञ्चार माध्यमले निकै गम्भीर ध्यान दिनु पर्दछ । आज सञ्चार माध्यमलाई बन्देज गरिइएको व्यवस्था भएको भए नागरिकको अवस्था कस्तो हुने थियो ? सञ्चार जगतविनाको समाज कल्पना भन्दा बाहिरको सवाल हो । त्यसैले कसैले कसैको बदनाम गर्ने नियतले पर्दा पछाडी बसेर कराउने अभ्यास भन्दा निकै टाढा सञ्चार जगतलाई राख्न आवश्यक छ । राज्यले पनि सञ्चार माध्यमको निष्पक्ष भुमिकालाई ठेस पुग्ने काम कहिलै गर्न नहुने र आम नागरिकको आवाज बुलन्द बनाउने वातावरणका लागि सबै सधै चनाखो हुनु पर्दछ । सुचनाको तथ्यपरक आधारमा सञ्चार जगतले ध्यान नदिदा नागरिकले गर्ने विश्वासमा धब्बा लाग्छ । जुन कुरा सञ्चार जगतको धर्ममा पर्दैन । त्यसैले सञ्चार जगत सधै तथ्य र सत्यको खोजीमा हुनु पर्दछ र हुन्छ पनि ।