
डोल्पा — हिमाली जिल्ला डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३ ताक्सीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। याक (चौरीगाई) स्याहार गर्न गएका ५२ वर्षीय धावा गुरुङको ताक्सि देखि तिन्जे जाने बाटोमा पर्ने छोइला लेकमा बुधवार साँझ ४ बजे तिर चट्याङ लागेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकरी दिएको छ। ।
मृतक गुरुङ चार जना साथी सहित चौरी स्याहार गर्न उक्त क्षेत्रमा गएका थिए। असिना पानी परिरहेको बेला उनीहरू एकै स्थानमा रहेको भए पनि गुरुङ एक्कासि समुहबाट बाहिर निस्केपछि चट्याङको चपेटामा परेका थिए।




चट्याङले लागेपछि धावा गुरुङको शरीरको आधा भाग जलेर कालो भएको र शरीर टुक्रा–टुक्रा परेको प्रत्यक्षदर्शी तेम्बा गुरुङले जानकारी दिए। अन्य चार जना — तेम्बा गुरुङ, खार्बा छिरिङ्ग गुरुङ, धोर्चे गुरुङलगायत बेहोस भएको केही समय पछि होस आएपछि सकुशल घर फर्किएका छन्।
स्थानीय झ्याम्पा लामाका अनुसार, घटना भएको स्थान ताक्सी गाउँभन्दा करिब ४६०० मिटर उचाइमा रहेको पहाडी क्षेत्र हो।ताक्सी गाउँ आफैं समुन्द्र सतहदेखि ४२०० मिटर उचाइमा अवस्थित छ। अत्यधिक उचाइ र मौसमका चरम परिवर्तनीयताका कारण सो क्षेत्र जोखिमयुक्त मानिन्छ।